प्रश्नमा मरेको जबाफ
एकादेशमा बाङ्गे भन्ने थ्यो अनि दीप भन्ने पनि। त्यो दीप भन्ने चैं मै हो। बाङ्गे चैं मेरो साथी।
कुरा जमानाको हो। बेला चङ्गा उडाउनेको थ्यो। समय अपरान्हको २ जति बजेको हुँदो हो। हावा खास चलेको थिएन। हावा नचले पनि हाम्लाई चङ्गा उडाउने धुन चैं राम्रै चल्या थ्यो। हुन त त्यतिबेला चङ्गा उडाउने धुन सधै जस्तो चढ्थ्यो, त्यो दिन बिशेष चै लट्टाई र धागोले भएको थ्यो। गोल्टिनमा नरकट घुसारेर नी फेटन त फेटेकै हो तर मजा त्यति नआउने लट्टाईको तुलनामा।
आमाले सियो धागोको बट्टामा राख्या ठुस ठुसे धागोले पनि कैले कैले त रहर पुर्याउन खोजिन्थ्यो तर चङ्गाको काल हुन्थे ती ठुस्सीने धागोहरु। धागो सागो ठुस्सेर गै सके पछि नरकटमा छेडीएको ट्वाक मात्रै बोकेर के घुमाई भो र?
एक दिन अत्ति भो। धागो त्यस्तो ठुस ठुसे त थिएन, तर एउटाले छुना साथ चेट भयो बल्ल बल्ल किन्या आफ्नो पानबुट्टे चङ्गा। बाङ्गे पनि संगै थ्यो। हाम्रो चङ्गा चेट भाको त्यो धोबीखोलामा आफ्ना खुट्टा पानीमा डुबाउदै बगेको पानी तिर हेरेर आफु हुरुरु उल्टो दिशा तिर कुदेको देख्दा पुलकित हुने एउटाले देखेछ। प्वाक भनी हाल्यो " ह्या --त्यस्तो कुईया धागो लिएर नी चङ्गा उडाउने हो? केई नभए बरु ईँजारले उडा भे हुन्थ्यो नी --"
कति जनाको सुरुवाल र पेटीकोट बेरोजगार हुन्थे कुन्नी त्यस्को चिन्ता उस्लाई भए जस्तो बुझिएन। फेरी चङ्गा पनि नाँग्लो भन्दा ठुलो चाहिन्थ्यो होला त्यो इँजार तान्न। अनि लट्टाईँ चै ट्वाकको सट्टा डरमको बनाउनु पर्ने थ्यो होला। अनि त्यो चङ्गा कहिले आक्कासिन्थ्यो कुन्नी? हुण्डरी नै आउनु पर्थ्यो होला। त्यो सबैको बारेमा त्यो ईँजारको डाईलक दिने लाई बाल मतलब थिएन। उ त फेरी, उस्को पाईताला मुनीबाट खुस्किदैं गएका बालुबा अनुभव गरेर होला दङ्ग पर्दै थ्यो।
त्यो ईँजारेले जे भने पनि कुरा चै ठेगान कै गर्या हो। किन भने त्यो ईजार डाईलक सुने पछि बाङ्गे सन्क्या थ्यो। "बाउलाई भनेर दिल्लीबाट रिलका रिल खतरा धागो नमगाई भएन।" उस्ले भन्यो। "अनि तेस्तो धागो फेरि गोल्टिनमा फेट्नी?" मैले पनि पाको बेलाँ ठोकें घन। "के को ट्वाक्? दाईले हेर्न कस्तो घच्चीको लट्टाईँ किन्छ।" बाङ्गे डुक्रियो। ठाउँमै लागेछ।
आज त्यही दिन थ्यो। बाङ्गेले मगाएको दिल्लीको धागो आईपुगेछ। उस्को लट्टाईँ पनि नभन्दै घच्चिको थ्यो। चङ्गा किन्ने बेलामा किच किच पर्यो। म पानबुट्टे त्यो पनि शङ्ख घोट्या किन्ने भन्ने उ चै बाबाचे। बल्ल बल्ल शङ्ख घोट्या पानबुट्टे नै किनियो। "केटीहरुलाई पानबुट्टे मन पर्छ रे क्या" भने पछि मान्या हो बाङ्गे।
धोबीखोला फाँटाँ पुग्दा पुग्दै बाङ्गेले भन्यो "म चै चङ्गा आक्कासिए पछि मात्रै उडाउँछु --सुरुमा उडाउन मलाई झर्को लाग्छ"। हुन त उस्लाई सुरुमै उडाउन दिए चङ्गा आक्कासिनु अघि नै च्याति सक्थ्यो तै पनि उडिसक्या चङ्गा उडाउँछु भन्ने डाँका बाठै हो।
त्याँ फाँटा पुगेर कक्का हालियो। धागो त हाम्ले पैला पैला साबुदाना मा सिसि फुटालेर घोल्या लेप दलेर नी उडाकै हो तर एकदम झन्झटको काम त्यो। यो धागो त त्यो भन्दा खतरा रे भन्थ्यो बाङ्गे। हुन त उस्लाई पनि के थाह?
चङ्गा उडाउन खोज्या खाली लावा खान्छ बा! बाङ्गेले जोस्सिएर झन्नै लावा देको। उस्ले देको भए त चङ्गाको ढाड भाँचिहाल्थ्यो नी। मैले लावा दिएर उडाको खाली एकातिर मात्रै घुम्न थाल्यो चङ्गा। अनि ग्वाँख दिए पछि ठिक भो। हल्का हावा चलेको थ्यो। अलि अलि चङ्गाहरु उडेका थिए। आक्कासिन त आक्कासियो हाम्रो चङ्गा तर टिक टिके भो। त्यस्तो टिक टिके ले अरु चङ्गा काटन गार्हो हुने। फेरी चङ्गा फिर्ता बोलाएर कक्कामा तिन पेच जति दिए पछि निक्कै बाठो भो चङ्गा।
धागोको ताकत जाँच्नु थ्यो। चङ्गा लडाउन तिर लागियो। पहिलो चङ्गालाई माथि बाट सुईईईईँ कम्ति हानेर माथ्लो पेच दिएसी घुम ख्वाउन थालियो। छिनमै त्यो चङ्गा चेट भो। बाङ्गे र मेरो अनुहारमा खुसी ब्याप्त। धागो पास भो।
अनि त भकाभक चङ्गा काटन थालियो। त्याँ फाँट तिर दुई तिन वटा नयाँ घरहरु बन्दै थिए। दुईटा केटीहरु हाम्ले चङ्गा उडाको हेरीरा थिए। उनीहरुले हाम्रो चङ्गा पछ्याको प्रस्टै थ्यो। बाङ्गे र मेरो जोस झन बढ्या थ्यो त्यै भएर। उनीहरुले सुन्ने गरी बाङ्गेले हरेक चोटी चङ्गा काटे पछि म तिर हेरेर कराउँथ्यो "मैले दिल्लीबाट मगाको धागो र लट्टाईं कस्तो लाग्यो त बाउ?" त्यो धागो, लट्टाई, चङ्गा सबै उस्कै हो --उ मालिक म चै मजदुर सम्म हो भनेर बाङ्गेले ति केटीहरुलाई सुनाको मैले बुझेको थिएँ। बाङ्गेलाई चिनेको मैले ऐले हो र? मलाई त्यस्ता कुराको मतलब थिएन। पातकीले नक्सालमा किन्या लट्टाईंलाई पनि दिल्लीकै बनाईदेको थ्यो।
एक छिन पछि एउटा नौलो केटो आयो हामीले चङ्गा उडाईरा ठाममा। ति नयाँ बनाईरा मध्येको एउटा घर त्यस्को थ्यो क्यारे। पैला पैला त्यस्लाई देख्या थिएन। अचेल त्यतै हुँदी हुन्थ्यो त्यो।
बाँकि भा चङ्गा चै हामीबाट तर्किदै थिए। हामी लखेटदै थिम। अनि एउटा धर्के चङ्गा चै नजिक नजिक आउन थाल्यो।
त्यो केटो आएर भन्यो "त्यो धर्केले त सबैलाई चेट पार्छ"।
बाङ्गेले त्यो केटो तिर हेरेर पिच्च भुईँमा थुक्यो। बाङ्गेलाई त्यो केटाले धर्केको गुनगान गा मन परेन भन्ने मैले बुझें। बाङ्गेले तर केही भनेन।
त्यो केटोले फेरी भन्यो "धर्केले काटछ है तिमेरको पानबुट्टे अब"। बाङ्गेले उडाउँदै थ्यो चङ्गा। म तिर लट्टाईं दिदै बाङ्गेले भन्यो "ला त एक छिन लि"। म त्यै धर्के तिर हेर्दै थिएँ। माथ्लो पेच हान्ला भनेर तर्किदै थिएँ। धागो अझै निक्कै थ्यो हामी सँग। धागो छोडदै घुम ख्वाउन कुनै समस्या थिएन। त्यो धर्के पनि हाम्रो माथ्ली पेच पर्ला भनेर तर्किदै थ्यो। तर जुध्न हामी दुईटै तयार।
केटीहरु हाम्रो र धर्के हेर्दै थिए।
त्यो केटोले सोध्यो "दिल्लीबाट ल्याको धागो हो?"
"हैन सिङ्गापुरबाट" बाङ्गेले भन्यो।
"ल्या लेई भो सिङ्गापुर बाट त" त्यो केटोले भन्यो।
"बाङ्गेले फेरी भै मा थुकेर सोध्यो "किन?"
"सिङ्गापुराँ चङ्गा त उडाउँदैनन अब--" केटोले फुर्ती सँग सुनायो।
"तँ पैला सिङ्गापुराँ बस्थिस? तेरो घर कि मामाघर सिंगापुर?" बाङ्गेले सोध्यो।
उस्को आबाजबाट प्रस्ट थ्यो बाङ्गे तात्दै गाको। त्यो केटो बाङ्गे भन्दा अलि अग्लो थ्यो अनि मोटो पनि। एक्कासी बाङ्गेले उस्लाई तँ भनेर त्यसरी कुरा गर्या त्यो केटालाई मन परेन नै। त्यसमाथि नजिकै केटीहरु पनि थिए। त्यो उस्ले पनि देखेकै हुनु पर्छ।
"तँ बस्थिस त सिंगापुराँ? तेरो बाउको जागिर थ्यो त्याँ?" त्यो केटोले सोध्यो।
म चै उता धर्के तिर पनि हेर्दै थिएँ यता बाङ्गे र त्यो केटा तिर पनि। स्थिती तनावपूर्ण थ्यो।
"ए बाङ्गे यता आइज त" मैले स्थिती सुधार्न बाङ्गेलाई बोलाएँ, उस्ले टेरेन। केटीहरुले हेरीरहेका भएर पनि होला बाङ्गे तातेको धेरै।
"तेरो बाउको थ्यो त सिंगापुराँ जागिर?" बाङ्गेले त्यो केटाको अरु नजिक गएर सोध्यो।
"थियो, के गर्छस? मेरो बाउको घरै छ सिगापुराँ, तेरो छ?" केटो नी जोस्सियो।
"मेरो घर छैन ससुराली छ सिंगापुराँ, त्यै तेरो घर हो मेरो ससुराली, अब बुझिस?" बाङ्गेले अलि कुर्लीएरै भन्यो।
त्यै बेलाँ यता धर्केले कम्ती हान्यो। म उता चङ्गा तिर हेर्दै थिएँ यता के लड्या जस्तो भो। हेर्या त बाङ्गेले त्यो केटोलाई लडाई सकेछ। केटो त बाङ्गे भन्दा बलियो जस्तो देखिन्थ्यो। उता चङ्गा परी सक्या थ्यो, धागो छोडदै थिएँ। केटीहरु चङ्गा छोडेर फाइट तिर लाग्या रे छ्न। हेर्दा हेर्दा धर्के चेट भो।
बाङ्गेले पनि देख्यो। अनि फेरी गर्जियो "देखिस तेरो बाउको धर्के चेट भो"। त्यो केटो र बाङ्गे फेरी जुधे। म चै चङ्गा फेटन थाले फिर्ता ल्याउन। बाङ्गे र त्यो केटाको हिसाब मिलाउनु पर्यो नी।
धमाधम धागो फिटदै थिएँ केटीहरु चिच्याए। केटीहरु तिर हेरेको, उनीहरु त फाईट भए तिर हेर्दै थिए। बाङ्गेले लगेर त्यो केटालाई के मा पछारेछ फेरी केटाको त मुख बाट रगत आईरा। अब भो कि?
हावाले गरेर चङ्गा तान्न पनि छिटो भै रा थिएन। चङ्गा त्यतिकै छोडेर झगडा छुट्ट्याउन पुगें। बल्ल बल्ल तानें बाङ्गेलाई। त्यो केटो आफु भन्दा सानो बाङ्गेले त्यसरी पछारेको देखेर तर्सेको जस्तो देखिन्थ्यो। त्यसमाथि रगत आईरा। बाङ्गेको भने हौसला चम्केको थ्यो। खाली त्यो केटाको रगत आ देखेर अलि सतर्क पनि थ्यो। मैले बाङ्गेलाई समातेर त्यो केटालाई घर जान भनें। एक छिन त्यही उभीएर फुर्ती गर्यो। बाङ्गे फुस्किन बल गर्या देखेर हिन्यो अनि "गाडदिन्छु एक दिन यही खोलामा" भन्दै थ्यो जाँदा जाँदै। केटीहरु अब थिएनन। चङ्गा निकै तल आईसकेछ। मैले हतार हतार फेटें।
चङ्गा फिर्ता ल्याउँदा त हातै दुख्यो पनि अनि थाक्यो पनि। थुचुक्क बसें म, बाङ्गे पनि बस्यो। "किन बेक्कारमा झगडा गर्या?" भन्या बाङ्गेले केही भनेन। "के मा पछारिस हँ तैले तेस्लाई पुरा रगत आईराथ्यो?" भन्दै त्यो पछारिएको ठाउँ तिर लागें म, बाङ्गे पछि लाग्यो। हेर्दै थिम त्यो केटा र अरु एक दुई जना अलि परतिर बाट आ जस्तो लाग्यो।
"आयो तेरो बाजे" मैले भनें बाङ्गेलाई। बाङ्गे र मैले ति मान्छे तिर हेरीम -- अनि एक अर्कालाई-- त्यस पछि हामी उता सत्तेनारन थान तिर बत्तियौं। निक्कै पर गएर हेर्या ति मान्छेहरुलाई देखिएनन। सास आए जस्तो मात्रै के भा थ्यो बाङ्गेले म तिर हेरेर सोध्यो "ए मारोगी, खै चङ्गा र लट्टाईँ?"
********