आदरणिय साझाबासीहरु,
प्रस्तुत छ, आत्मकथाको तेश्रो भाग, हतार हतार गरेर लेखें कस्तो भयो कुन्नी?
-----------------------------------------------------------------------------------------------------------
-----------------------------------------------------------------------------------------------------------
बस हिड्यो। म आफ्नो आतंकित मनलाई सम्हाल्ने असफल प्रयास गर्दै थिए।
"ओहो नारायणगढ आउनै लागेछ हगी", जानकीले आँखा मिच्दै भनिन
"अव तपाई यहाँबाट पश्चिमलाग्ने म चै उत्तर, हैन" अझै थपिन।
मेरो भने यहाँ हालत सहिनसक्नु भै सक्यो, यिनी चै भूगोलको पाठ चाहन्छिन।
"कमल, म संग किन रिसा?"
"हैन रिसा हैन, यो जीन्दगी पनि कत्ती निर्दयी छ है, अव मैले तिमीलाई ५ घण्टा अघी चिनेकै थिईन, अहिले छुट्टिनु पर्दा, कस्तो नरमाईलो लाग्या",
मैले मेरो मनको पुरै हालत नभनेपनि केहि अंश सम्म उनको सामुन्ने राख्ने प्रयत्न गरें।
"हेत्तेरी, तिमी पनि के कुरा गरेको भन्या, तिमी पनि काठमाण्डौमै पढ्ने, बस्ने हो, म पनि त्यहि, भेट किन हुन्न र, दुई चार दिन त हो नी", उनले भावुक हुँदै मलाई सम्झाउने प्रयत्न गरिन।
ए हो त है अहिलेको क्षणिक आनन्द पाउने बिचारमाचै पछिको कुरो त भुसुक्कै बिर्सेछु।
"त्यो त हो" मैले बुझे जस्तो गरी भने।
"तिमी कृष्णनगरमा मोज गरेर काठमाण्डौ आउ अनी हामी बेलाबेलामा भेटघाट गर्दै गरौलानी हुन्न", जानकीले आशाको एउटा किरण देखाईन।
"भै हाल्छ नी, बरु तिमीलाई कसरी भेट्ने मैले काठमाण्डौमा? "
"म फोन नं दिमला नी, अनि फोन गर न मलाई"
"अनी खै त फोन नं", अहिलेसम्म ती बेदनाका काँडाहरुले घोच्ने क्रम रोकिसकेको थियो। एउटा सुखद अनुभूतीको आभाष भै रहेको थियो मेरो मानसपटलमा।
उनले आफ्नो फोन नं र पोखराको मामाघरको पनि फोन नं आफ्नो व्यागबाट निकालेको कागजमा लेख्दै दिईन र व्यागलाई बाटोमै राखीन।
उनको झोला हेर्छु त ठयाक्कै मेरो जस्तै "कासा पेको, मेड ईन थाईल्याण्ड" लेखेको। अचम्मको संजोग भयो अहिलेत। मेरो झोला संगै राखेर उनी पनि अचम्म मानिन र पुलिक्क म तर्फ हेरेर मुसुक्क मुस्काईन्। उनको त्यो मुस्कानले मेरो त्यो बञ्जर जमिनमा आशाका टुसाहरु पलाउन लागे। मैले पनि उत्तरमा एक मन्द मुस्कान फर्काईदिए। उनको मुखमण्डल देखेर लाग्यो उनी तृप्त भईन।
मैले पनि उनलाई मेरो घरको फोन नं दिएर फोन गर्ने बाचामा बाँधे।
यत्तीकैमा बस नारायणगढ चोक तिर ओरालो लाग्यो।
"नारायणगढ झर्ने आउनुस है", खलासी करायो।
अहिले म अघि कसरी छुट्टिने होला भनेर हतासीएको जस्तो हतासीएको छैन। मलाई थाहा छ, ७ - ८ दिनमै उनी र म दुवै जमलको मिराज रेष्टुरेन्टमा हुने छौं, म मलाई मन पर्ने चिकेन चाउमिन खाँदै, उनी संग हाँस्दै कुरा गर्दै।
हतार हतार गर्दै म झोला टिपेर बसबाट झरें, यसो फर्केर बस तर्फ हेरें जानकी मलाईनै हेर्दै रहिछन, उनको मलिन मुहार देखेर मेरो पनि मन खिन्न भयो। ठिकै छ अव यहिं सम्मको साथ रहेछ भने पनि भाग्यनै यहि, हैन भने अरु समयहरु कसो नआउला जीवनमा संगै बसबाट झर्ने भन्दै एक अन्तिम पटक उनलाई हेरेर बिदा दिने संकेत गरें। उनले पनि मौननै भएर स्विकृती दिए जस्तो लाग्यो।
अव कता लाग्ने, म कता जाँदै छु मैले त भुसुक्कै बिर्सेंछु। दश मिनेट एउटा होटलको बेन्चीमा बसें, त्यो पोखराको बस तर्फ आफ्नो नजर घुमाए, बस त गैसकेछ। एकाएक मेरो शरिर सिथील भएर आयो, बेन्चीमा नबसेको भए म पक्कै पछारिने।
"एक बोत्तल बिसलेरी मिनेरल वाटर ल्याउनु न दिदी", भन्दै म त्यो होटलकी साहुनीलाई आग्रह गरें।
"यि, रु २० मात्र", भन्दै साहुनी दिदी ले पानी दिइन।
अघी कण्डक्टरले फिर्ता दिएको २० को नोट ती दिदीलाई दिए र पानी पिउन थालें। मेरो आँत भरिदैं गयो। खुसुर पुसुर, खित खित गरेको कतैबाट आवाज आयो, यता उती नजर घुमाए, अली पर दुई बेन्च तल दुईटी सुन्दरीहरु मलाई हेर्दै मुसुक्क हाँस्दै रहिछन्। मलाई केहि रमाइलो लागेन। ६ घण्टा अघी भएको भए म मख्ख पर्दै ति सुन्दरीहरुलाई ईम्प्रेस पार्ने र बोल्ने र संबन्ध बढाउने युक्ती निकाल्न तिर लाग्थें हुँला तर के भा यो, मलाई त तिनीहरुलाई हेर्दा पनि केहि भएन, केहि गरौं जस्तो पनि भएन, मानौं रोमाञ्चनै थिएन त्यस कार्यमा। यती चाँडो म कस्तो बदलीएछु, यस्तो पनि हुन्छ र, कि अप्राकृतिक रुपले म बदलिएछुकि क्या हो, एकछिन त लौ के भयो मलाई भन्दै आत्तिए तर पछि बुझें तिनीहरू जती राम्रा भएपनि, सुन्दरीहरु भएपनि जानकी त हैनन नी। अहिलेसम्म मैले कती कन्याहरु संग हँसी ठट्यौली गरें यसको कुनै लेखाजोखा नै छैन। जाजरकोट की सरिता, चरिकोटकी सिता, मार्तडीकी बबिता, ओहो, मेरा यी कन्या साथीहरुबाट त क्या लय मिल्दो रहिछ रमाईलो कविता झैं। यी सबै संग मेरो राम्रो संबन्ध थियो तर छुट्टनेबेलाँ त कहिले यस्तो भा थिएन बा। बरु जाजरकोटमा बुवा सरुवा भएर हामी त्यहाँबाट हिन्दा सरिता बलिन्द्र धारा आँशु चुहाऊँदै रोएकी थिई, किन रुन्छे यो भनी मैले बुझ्न सकेको थिईन, सायद अहिले मेरो जे हालत छ, त्यतीखेर त्यसको पनि त्यहि हुनु पर्छ। विवशता.......।
बिस्तारै आफूलाई संभाले, याद आयो म कृष्णनगर जानु पर्ने, यसो आँखा घुमाउदै थिए भेरी यातायातको काठमाण्डौ बाट नेपालगंज लेखेको बस आउँदै रहिछ। ठिकै छ यसमै चढ्नु पर्यो भनी झोला समातेर बाटो तर्फ गए, ड्राईभरलाई रोक्ने संकेत गरें। बस अडियो, म भित्र पस्नासाथ बस हिडी पनि हाल्यो।
"मेरे नसिबमे तु है के नहि तेरे नसिबमें मै हुँ के नहि", हिन्दी सिनेमा नसिब को यो गित बस भित्र गुञ्जीरहेको थियो। ओहो त्यो गितमा हेमा मालीनी कत्ती राम्री देखएकी साँच्चै ड्रिमगर्ल। जेहोस यो गित अहिले यो बसमा गुञ्जिनु कतै संयोग मात्र नभै कुनै बाहिरी दैवी शक्तीबाट अभिप्रेरित त छैन भन्ने पनि लाग्यो। तर पछि पक्कै पनि ड्राईभर हेमा मालिनी को ठूलो फ्यान होला भनी चित्त बुझाए। यस बेला चै बसमा अगाडिनै बस्न पाईयो। ढोका बाट तेश्रो पंत्तीमा झ्याल तिरको सिट खाली रहिछ। यतापट्टि चै एउटा अध बैसे घुर्दै रहेछ। जे होस झोलालाई माथी राखेर झ्याल तिर बस्न गए। झ्याल मा बस्न त मन थिएन तर आई एस्सी मा मिश्र सरले "बेगर्स क्यानट बि चुजर्स" भनेको संझी होत्त नी भन्दै झ्यालतिरकै मा गएर बसें। म झ्याल तिर बस्दा डिस्टर्ब भएछ के रे त्यो सहयात्रीलाई, उठेर मलाई यत्रो आँखाले हेर्दै फरी आँखा चिम्म गर्यो। म पनि तेसको बाउको त पक्कै हैन होला यो बस भन्दै ढसमस्स परि बसे र बाहिर हेर्न थालें।
बस भर्खर नारायणी नदीमाथी को पुल तर्न सुरु गर्दै रहिछ। निकै ठूली छन् नारायणी नदी, ८ किलोमिटर जती उत्तरमा देवघाट भन्ने पवित्र तिर्थ स्थलमा काली गण्डकी र त्रिशुलीको संगम निकै रमणिय छ, ती नदी हरु तथा अरू ५ बटा; बुढी गण्डकी, मर्स्याङ्दी, दरौंदी, सेती, मादी को संगमले बनेको यो नारायणी नदी। नेपालकै सबैभन्दा गहराई भएको नदी हो क्यारे। मकर संक्रान्तीको दिन देवघाटमा रमाईलो मेला लाग्छ। मैले पनि दुई बर्ष अघी हजुरआमालाई लिएर आको बेला, कस्तो घुईचो देवघाटमा, १० लाखको हाराहारीमा थिए होलान मानिसहरु। नारायणगढमै रिगल रेस्ट हाउस भन्नी होटलमा बस्या। क्या लामखुट्टेले टोक्या थियो भन्या, होटेलले झुल दिया भएनी गुन गुन गरेर सुत्नै पाईया हैन भन्या। फेरी हजुराँ अरुले पकाको नखाने अव नारायणगढा कहाँ भान्सा खोज्न जाने, क्या फसाद पर्या थियो त्यो बेला। बल्ल बल्ल एउटा मारवाडीको मा बाहुन भान्से रहिछ, हजुरआमालाई लगेर त्यसको जनै देखाएर, सधै नुहाउँछ भनी बल्ल बल्ल राजी गराएर रोटी, तरकारी खा। क्या दु:ख पा भने त्यो बेलाँ।
"ओ दाई भाडा पाम त", कण्डक्टर कराउन लाग्यो।
"चनौटा सम्म", भन्दै खुरुक्क १०० को नोट निकालेर दिए, मोल गर्ने न मेरो शक्ती नै थियो न कुनै कारण नै।
"अझै १० ल्याउनुस, ११० हो त्यहाँसम्मको", होला नि त भन्दै आर्को १०० को नोट दिए। एउटा ५० र दुइटा काती परेका २० को नोट दिदै पछाडि तर्फ लाग्यो।
ती नोटहरु पाकेटमा राख्न घिन लाग्यो र यतीकै सर्टको माथिको गोजिमा राखें। के गर्छन बा मानिसहरु, कसरी नोटहरु त्यस्तो काती परेको भन्या भनी फतफताउँदै बाहिर हेर्न लागें।
बस आफ्नै गतीमा फेरी बाटो तताउँदै थियो। छिन छिनमा नयाँ गाऊँहरु आउँथे जान्थे। बल्ल १५ किमी आईया रहिछ, कस्तो ढिलो बितेको भन्या अहिले पलहरु? आफै अचम्ममा परें। फेरी आईन्सटाईनले थ्योरी अफ रिलेटिभिटी मा स्पेस र टाईम रिलेटिभ हुन्छ भनी सम्झाउने बखत दिएको उदाहरणको समंझना आयो। "यदि तपाईलाई तातो तावामा ५ मिनेट बस्नु परे ५ घण्टा सरह हुन्छ भने राम्री आईमाईको काखमा ५ घण्टा बस्नु परे ५ मिनेट पनि नभएको आभाष हुन्छ", कती सहि थिए उनी, मानिस सुखमा समय गएको पत्तै पाउन्न दुखमा पल पल गनेर बस्नु पर्छ। अव रिलेटिभिटीमा कत्तिको मिल्छ त थाहा छैन त्यो उदाहरण तर त्यो आफैमा कती सहि छ।
"तेरे मेरे बिचमे कैसा है यह बन्धन अन्जाना, कैसा है यह बन्धन अन्जाना......", ड्राईभरले फेरी अर्कै गीत बजाएछ। एक दुजे के लिए भन्ने अर्को हिन्दी सिनेमाको गाना त्यो, कती मार्मिक छ त्यो सिनेमा। त्यसमा त त्यो केरे नेपाली भिलेन भएर खेल्ने, सुनिल थापा पनी छ त। बज्जे ले रती अग्निहोत्रीलाई झण्डै भ्याको। अस्ती तेसको टिभी मा ईन्टरभ्यू हेरेको, बज्जे त "अँ, मैले हिन्दी सिनेमा मा पनि खेलेको छु, एक दुजे के लिए हिट बनाईयो भन्दो रछ", अव हिरोईनलाई समात्न जाँदैमा सिनेमा हिट हुने भए, म पनि नं १ हुने थिए। बज्जेलाई नेपाली त राम्रो संग बोल्न आउन्न, हिन्दी सिनेमा हिट बनाउने रे।
त्यो गितको माध्य्यमबाट, अहिले मेरो स्थितीलाई खिल्ली उडाईराख्या त छैन कसैले, शंका नै लाग्यो बा। तर खै कसलाई थाहा र। मलाईनै मेरो हालतमा आत्मसंगत हुने गीतहरु मात्र याद भा हुनु पर्छ भन्दै बाहिर हेरें। बाहिर रातो माटोको पहाडबाट छिचोलिदै थियौ हामी, सालका कत्रा कत्रा रुख, ओहो सालको त जंगल नै रहिछ यहाँ। उहाँ काठमाण्डौमा चाहिँ सराध्दे, पूजा आजामा टपरी, दुना, बौता बनाउन, एउटा मुठाको रु १० मा किन्नु पर्छ, एउटामा २० बटा पात पनि हुन्नन यहाँ भने जंगल नै, पात त फाला फाल। यहाँबाट पात लगेर पूजाको बेलाँ मामी ले पात किनेर ले भन्या बेलाँ मामी संग रु २० लिदै सुटुक्क यहाँको पात को दुई पोका बानाएर एक बोत्तल कोक र पानपराग खान पा त कत्ती रमाईलो हुन्थ्यो नी।
ह्वास्स गनायो। ओहो नाकै थुन्नु पर्ने गरी के गनाको यो भन्दै त्यो गन्दलाई बिश्लेषण गर्न पट्टि लागे। यसो सोचेको त यो ह्विस्की, रम, जस्तो पो छ। हैन कस्ले भट्टी पसलै भत्काएछ भनि बाहिर हेर्छु भन्दा त अरुण खोला पो आईपुग्या रहेछ। अव बल्ल थाहा भो गन्धको रहस्य, अरुण खोलामा अवश्थित श्री डिस्टिलरी का उत्पादन को गन्ध पो त त्यो। यो श्री डिस्टिलरीबाट उत्पादित "गोरखाली रम", "श्री भोड्का" धोक्राऊँदा त गन्हाजस्तो लाग्दैनथ्यो, अव फेक्ट्री निर चै के खान गन्हा नी भन्दै अचम्म मानेर महेन्द्र राजमार्गकै किनारमा यो अरुण खोला भन्ने ठाउँमा अवस्थित श्री डिस्टिलरीको फेक्ट्रीलाई एक तमासले हेर्न पुगें।
"एक्सक्यूज मी, यो सिट खाली हो",
म झसंग भए, यसो हेर्छु त पहेंलो टि सर्ट, कालो जिन्स पाईन्ट, आँखामा गगल्स लगाएकी गहूँगोरी नारीले कोईलीको स्वरमा मलाई सोद्धै रहिछन्। बगलको सिट हेरे, खाली रहिछ, उ महासय कतिखेर कहाँ झरे केहि लत्तो पत्तो भएन।
"यस, खाली नै हो", खै अघिको सहयात्री भन्दा त यि मैया त बेसै होलिन नी भन्दै उनलाई उत्तर दिए।
"हाउ नाईस, क्यान आई सिट हियर देन", बस्दै सोधीन,
अव बसिनै सकेपछि त हुन्न उठेर जाउ भन्न पनि त मिलेन।
"यस यस, ह्वाई नट, ईट विल बि माई प्लेजर", भन्दै उनलाई स्वागत गरें।
"बाई द बे, आई एम बैदेहि, एण्ड यु आर?", आफ्नो नाम भन्दै मलाई सोधिन,
"कमल", मैले ट्वाल्ल परेर उत्तर दिए।
-------------------------------------------------------------------------------------------------
-------------------------------------------------------------------------------------------------
क्रमश: