‘भुसको आगोसँग सधैं ध्यान दिनु कान्छी । यो भित्र भित्र बल्दछ, ज्वाला दिन गाह्रो मान्दछ । तर भर रात बलिरहन्छ ।’
हजुरआमाले खोले पकाँदा एकाध बालेको भुसको आगोको जात सिकाउनु हुन्थ्यो । हजुरआमा जानु भयो, खोले पकाउने परिवेश गयो । तर त्यो शिक्षा म सँग रहि रह्यो । बिगतसँग सँधै शिक्षा दिने कथाहरु हुँदैनन् । यो त्यस्तै उपयोग मरेको ज्ञान भएर मसँग बसि रह्यो ।
मेरो बर्तमान मेरो बिगतबाट एक पाताल पर छ । काम छ, सपनाहरु छन् । सघर्षहरु छन्, चाहहरु छन्, ब्यवहारहरु छन । म ब्यस्त नै छु । तर बर्तमानका यावत ब्यस्तता भएरपनि केहि बिझिरहन्छ । भित्रमनमा चिमोटि रहन्छ । बाहिर देखिन्न। मैले भेउ पाएको पनि छैन । तर मात्र यति थाहा छ, बेला-बेला यसले पोलिरहन्छ । हुन तर लाहुरिएका सबैको कथा यहि होला । छोडेको माटाको चार चिम्टी माया । मेरा हजुरबाउले मजुवा छोडेर तराइ बसे । बाउले तराइ छोडेर उपत्यका, म नेपाल छोडी बिदेश भाँसिए । पात्र फरक, कथा फरक तर सार त उहि हो । छोडेको बसाईले मनबाट मोइयानी माग्दो रहेछ ।
‘तिमी जाने नै हो त?’ कविताले अन्तिम पटक सोधि ।
‘अँ । धेरै एकोहोरो भयो जीवन । एक चोटी गएर आउँछु । यहाँको ब्यस्तता बाट बिश्राम पनि हुन्छ । फ्रेस हुइन्छ होला ।’
मेरी पहिले देखिकी साथी । अहिले फरक शहरमा भएपनि, मनको नजिक कि साथी । जसलाई मेरो बिगत र बर्तमान थाहा छ । अनि उसलाई मेरा कुरा भन्न सजिलो लाग्छ । मेरो नेपाल जाने कुरै थिएन । सम्भावनै थिएन । तर बनेको परिवेशमा मलाई यहि इच्छा भयो ।
‘कति बस्छेस त?’ उसले जानी जानी सोधि ।
‘६ महिनाको उद्देश्य बनाएकि छु’
‘ छोडेको धेरै लामो भयो, सक्छेस?’
‘ हेरौं, प्रयास गर्छु, सकिन भने फर्किन्छु’
‘तँ यहाँ धेरै अभ्यस्थ भइसकिस, फेरि तेरो बिगतका कुरा उठलान । नेपाल त्यहि हो । अनेक कारण दिए पनि तेरो बारेमा शुरुमै छवि बनिसकेको हुन्छ । त्यो छविले बेला बेला छोप्छ । होस गरेस ।’ नेपाली समाजको जानकारी छ उसलाई । सुक्ष्म विचारको गहिरो बिश्लेशण गर्ने क्षमता राख्दछे ।
‘म तँ सँग सम्पर्कमै हुन्छु नि ।’ म समाजको बारेमा बिश्लेशण बाट पर भाग्न खोजे ।
‘टिकट लिइस त?’ उसले पनि शिर्षक सरक्क छोडि ।
‘हेर्दैछु, आज नेपाल खबर गर्छु । यो यात्रा लेखाजोखा नगरि गर्न पर्ला । जता जे पर्छ, त्यहि ।’
‘मान्छेहरुलाइ झ्याप्प विश्वास नगरिहाल्नु । खासगरी पैसाको मामलामा । अरु कुरा त केहि छैन । खानेकुरा याद गर्नु । ’ उसले संक्षेपमा दुइ महत्वपूर्ण सल्लाह दिइ ।
‘धन्यबाद यार’ ।
म अल्छि तालले समानहरु समेटन थाले । यो मेरो हारको यात्रा होइन । मातृभुमीको अगाध मायाले तानेको यात्रा पनि होइन । बर्तमान एकोहोरिंदा बिगतबाट गति सापट माग्न खोजेको हो ।
यहाँ न उमंङ्ग छ न लाचारी । खाली सुस्त भएकि छु । खल्लोपन छ । अनि जबर्जस्ती धकेल्दै छु आफूलाई ।
हप्ता निकै ढिलो बित्यो । एक दुई साथीभाइ फोन गरे । दिदी र भाइलाई फोन गरे । काठमाण्डौंमा भएकि फूपुलाई फोन गरे । टिकट लिए । अनि म पनि निस्किए । एघार बर्षपछी नेपाल भेटन । सुरक्षाका अभ्यस्थ जाँच, अनि जहाजको नियमित कुराइ । तर यो यात्रा फरक छ । अहिले बुआ, आमा हुनुहुन्न । केहि आफन्तजन छन्, फूपु को परिवार छ । नेपाल फर्किन जरुरी कहिले लागेन । समयले कहिले बोलाएन । यो पालि मलाइ समयले धकेल्यो । जहाँ गए पनि हुन्थ्यो । तर नेपालले तानेको छ ।
यो विमानस्थलमा हजारौं यात्री छन् । आ-आफ्ना भावहरु बोकेका अनुहार छन । यिनको आ-आफ्नै कथा होला । मसँग अहिले कथा छैन । मसँग प्रसंङ्ग बेगरको एउटा बिगत छ । अनि भावशुन्य अनुहार । म खालि पाना बाट यो यात्रा शुरु गर्दै छु ।
क्रमश:
meaninglessthinkings@somewhereondearth